संखुवासभा जेष्ठ १४
खाँदबारी वडा नं. १ को आयोजनामा वडा भित्रका ८० बर्ष माथिका जेष्ठ नागरिकलाई आज एक भब्य कार्यक्रमका बिच सम्मान गरिएको छ ।
सम्मानित जेष्ठ नागरिकहरुलाई खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा बज्राचार्य, वडा नं. १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ, वडा सदस्य उदिम राई, श्रृजना संकर, सारदा पराजुली लगायतले दोसल्ला, टेक्ने लौरो र मायाँको चिनोबाट सम्मान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख महेश थपलियाले जेष्ठ नागरिकको मार्गनिर्देश र आशिर्वादले आजको पुस्ताले धेरै अवसर पाएको बताउनु भएको थियो । सम्बोधनका क्रममा नगरप्रमुख थपलियाले बृद्धा बृद्ध समाजको अग्रजहरु भएकाले उनिहरुको सम्मानका लागि नगरपालिकाले सकेको सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा नगरउपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले बृद्धबृद्धाको सम्मान र सेवा गर्नसके सबैको भलो हुने धारणा राख्नुहुँदै आजको समाज सुन्दर बनाउन जेष्ठ नागरिकको भुमिका र योगदान महत्वपुर्ण रहेको बताउनुभएको थियो । खाँदबारी नगरपालिका वडा नं. १ का वडा सचिव गणेश श्रेष्ठले संचालन गर्नुृभएको कार्यक्रममा समापन मन्तब्य राख्दै वडाध्यक्ष निरञ्जन श्रेष्ठले वडाले पहिलो पटक वडा भित्रका जेष्ठ नागरिकलाई सम्मान गर्नपाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा समेत जेष्ठ नागरिक र बालबालिकाको हितका लागि योजना बनाउने प्रतिवद्धता जनाउनु भएको थियो ।
खाँदबारी नगरपालिका वडा नं. १ भित्रका ८० बढि जेष्ठ नागरिकलाई सम्मान गरिएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य, खाँदबारी एफएमका बरिष्ठ प्राबिधिक तथा फोटोग्राफर सुरेन शाक्य लगायतको उपस्थीति रहेको थियो ।
