जेष्ठ २२
डिभिजन बन कार्यालय संखुवसभाले बिश्व वातावरण दिवसका अवसरमा बृक्षा रोपण कार्यक्रम आयोजना गरेको छ । संबृद्ध भविष्यको आधार जलवायु एवम् प्रकृतिमैत्री विकास भन्ने मूल नाराका साथ मनाइएको वातावरण दिवसका अवसरमा संखुवासभा खाँदबारी ७ मा रहेको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको हाता र यसको आसपासको क्षेत्रमा बृक्षा रोपण गरिएको हो ।
कल्कि, एभोकार्डो, तेजपत्ता, रुद्राक्ष लगायतका बिरुवा तथा फलफूलका करिव १५० वटा विरुवाहरू रोपण गरिएको छ।
बृक्षा रोपण कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी श्रृजना थपलिया, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मी , खाँदबारी एफएमका अध्यक्ष सरोज बज्राचार्य, विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय तथा त्यसको केन्द्रीय कलेजमा अध्ययनरत एमएससी प्रथम सेमेस्टरका विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
जिल्लाको दिगो वातावरणीय संवर्द्धन र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित बृक्षा रोपण कार्यक्रमलाई सम्बोधन गर्नूृहुँदै प्रमुख जिल्ला अधिकारी श्रृजना थपलियाले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको हाता र यसको आसपासको क्षेत्रलाई स्वच्छ राख्नुपर्नेमा जोड दिँदे जथाभावी फोहर फ्याक्ने बानीको अन्त्य गर्न नागरिक आफैं सचेत हुनुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय सङ्खुवासभाका प्रमुख मेघराज राईले विश्व वातावरण दिवसको ऐतिहासिक पृष्ठभूमि र यसको सान्दर्भिकता माथि प्रकाश पार्दै सन् १९७२ मा संयुक्त राष्ट्रसंघको आह्वानमा स्विजरल्याण्डको स्कटहोममा भएको राष्ट्र प्रमुख तथा प्रतिनिधिहरूको ऐतिहासिक भेलाले जुन ५ का दिन पारित गरेका सिद्धान्तहरूकै आधारमा विश्वभर यो दिवस मनाउन थालिएको जानकारी दिनुभएको थियो ।