खाँदबारी एफएम संखुवासभा
२० औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा स्वतन्त्र दलित अधिकार मञ्च सङ्खुवासभा र दलित महिला संघ (फेडो) सङ्खुवासभाको संयुक्त आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम राष्ट्रिय दलित कल्याण संघका सचिव लोक शंकरको प्रमुख आतिथ्यता तथा दलित महिला संघ सङ्खुवासभाकी अध्यक्ष सृजना शंकरको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लोक शंकरले जातीय भेदभाव तथा छुवाछुतको अन्त्य अपरिहार्य रहेको बताउँदै दलित समुदायको हक–अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै उहाँले अग्रज दलित नेताहरूको अनुपस्थितिप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा सबै एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला दलित संघका अध्यक्ष चक्र बिशुङ्के, स्वतन्त्र दलित अधिकार मञ्चका उपाध्यक्ष राजन महते र सचिव कृष्ण तिरुवा अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रम सञ्चालन मञ्चका कोषाध्यक्ष फुलमाया ठटालले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्ने विषयमा समेत छलफल गरिएको आयोजकले जनाएको छ ।
