असार १६
खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा मोबाइलको चार्जर निकाल्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन्।
जिल्ला प्रहरीका अनुसार सोमबार साँझ जन्तेढुङ्गा गाउँपालिका–५ नाटेपानी निवासी ४९ वर्षीय नरबहादुर तामाङलाई आफ्नै घरमा मोबाइलको चार्जर निकाल्ने क्रममा करेन्ट लागेको थियो। उनलाई बचाउने प्रयास गर्ने सोही स्थानकी ६३ वर्षीया पदममाया राईलाई पनि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ।
दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो। उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले नरबहादुर तामाङलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घाइते पदममाया राईको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचार भइरहेको छ। उनको अवस्था बोल्न सक्ने र तत्काल सामान्य रहेको प्रहरीले बताएको छ।