असार १६
सङ्खुवासभाकाे सिलिचोङ गाउँपालिका–१ मा केही दिन देखि परिरहेकाे अविरल वर्षाद पछिकाे पहिरोबाट २८ घरधुरी विस्थापित बनेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पहिरोबाट बस्तीमाथिको जमिन चिरा चिरा भएर बग्न थालेपछि स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको गाउँपालिका अध्यक्ष भुपाल मेवाहाङले बताए । उनले प्रभावित क्षेत्रमा हिजाे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा खटिईरहेकाे जनाए ।
गाउँपालिका अध्यक्ष भुपाल मेवाहाङले
बस्तीको तत्काल अनुगमन, सुरक्षित ठाउँमा स्थानान्तरण, राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग आग्रह गरिएकाे जानकारी दिए ।
बाढि पहिराेका कारण सिलिचोङमा रहेकाे २ वटा जलविद्युत् आयोजनामा क्षति पुग्दा गाउँका ६०० बढि परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
सिसुवामा रहेकाे ६० किलोवाटको सिसुवाखोला लघुजलविद्युत् र ३० किलोवाटको चटेक्मा लघुजलविद्युत् आयोजनामा पहिराेले क्षति पुर्याएकाे गाउँपालिकाका अध्यक्ष मेवाहाङकाे भनाई छ ।
सिसुवाखोलामा आएको बाढीले स्वास्थ्य चाैकि र २ वटा विद्यालयमा क्षति पुगेपछि स्वास्थ्य सेवा र पठनपाठन बन्द भएको छ । पहिरोबाट बिस्थापितहरु अहिले आफन्तकाेमा आश्रय लिएर बस्न बाध्य छन् ।