योगमाया राष्ट्रिय सम्मान समर्पण तथा कृति लोकार्पण - साझाकुरा
बिहिबार, असार २५, २०८३

योगमाया राष्ट्रिय सम्मान समर्पण तथा कृति लोकार्पण


editor@sajhakura July 8, 2026

असार २४
योगमाया दिवसको अवसरमा योगमायाका नामका दुई सम्मान अर्षण गरिएको छ। नेपाल स्रष्टा समाजले राजधानीमा आयोजित कार्यक्रममा ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ ले अग्रज कथाकार माया ठकुरी र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ बाट निनु चापागाईं सम्मानित भएका हुन्।
उक्त सम्मानहरू अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, रेखा कँडेल, राजेश न्यौपाने लगायतले अर्पिएका हुन्। यी दुवै सम्मानमा नगदराशि ५० हजार एक सय एक रुपैयाँसहित सम्मानपत्र रहेको छ।
प्रमुख अतिथि रोचक घिमिरेले सम्मान अर्पिंदै भने, ’निरंकुशताविरुद्ध संघर्ष गर्ने योगमाया विलक्षण व्यक्तित्व थिइन्। सबला नारीको रूपमा उनले समाजका विकृतिविरुद्ध खेलेको भूमिका अतुलनीय छ। आज सम्मान पाउने उचित पात्रको चयन गरेर नेपाल स्रष्टा समाजले आफैं सम्मानित भएको छ। नेउपाने बन्धु समाज, संस्थापकहरूप्रति धन्यवाद। सम्मानितद्वयलाई बधाई।’ यसैगरी सोही कार्यक्रममा प्रदीप सापकोटाले सम्पादन गरेको ‘योगमाया इतिहासदेखि वर्तमानसम्म’ को लोकार्पण गरिएको छ। उक्त कृतिमा योगमाया न्यौपानेकेन्द्रित लेखरचना सङ्गृहीत छ।
सम्मानित स्रष्टा ठकुरीले पुरस्कार पाउँदा गौरवान्वित महसुस गरेको बताइन्। उनी आफ्नो बाल्यकालतर्फ फर्केर नोष्टाल्जिक पनि भइन्। अर्का सम्मानित व्यक्तित्व चापागाईले दुरीको हिसावले योगमाया र आफू जन्मेको ठाउँ धेरै टाढा नभए पनि धेरैपछि मात्र योगमायाबारे थाहा पाएको भन्दै उनले भने,’ योगमायाको बारेमा अझै धेरै कुरा खोजी हुनुपर्छ। उनी क्रान्तिकारी कवि थिइन्। त्यसैले उतिबेला नेपालको कानून, राजनीतिबारे प्रश्न उठाउन सकिन्।’ पुरस्कार संस्थापक पवन आलोकले योगमायाको योगदानको चर्चा गरेका थिए। अर्का संस्थापक राजेश न्यौपानेले योगमायाको योगदान आज पनि उत्तिकै सान्दर्भिक भएको बताए।
सम्मानित व्यक्तित्वहरूबारे इल्या भट्टराईले चर्चा गरिन्। चर्चाको क्रममा माया ठकुरी हिजो रेडियो खर्साङ र रेडियो नेपालमा गायिका रहेको पनि बताइन्। उनका कृतिहरू भारतका विभिन्न विश्वविद्यालय र नेपालका विद्यालय तहका पाठ्यक्रममा रहेको पनि उनले बताइन्।
यसैगरी चापागाई साहित्य र राजनीतिमा सँगै हिंड्न सक्ने क्षमता भएको व्यक्तित्वको रूपमा उनको चर्चा गर्दै राल्फाली आन्दोलन र समालोचनाको क्षेत्रमा उनको योगदानबारे जानकारी दिइन्।
न्यौपाने बन्धु समाज नेपालका अध्यक्ष बलराम न्यौपानेले योगमायाका योगदानहरूको प्रचारप्रसार गर्न र राष्ट्रिय विभूति घोषणा गर्न आफूहरू लागिपरिरहेको जानकारी दिंदै सम्मानित व्यक्तिद्वयलाई बधाई दिए। उनले आज लोकार्पित कृतिले योगमायाको योगदानको चर्चा सबैसामु पुग्ने आशा समेत व्यक्त गरे। गायिका लोचन भट्टराईले योगमायाका वाणी आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको विचार व्यक्त गरिन्। कार्यक्रममा योगमाया रचित गीति भिडियो पनि प्रस्तुत गरियो। जसमा संगीत र स्वर गायिका लोचन भट्टराईको रहेको छ।
अतिथिको रूपमा नेपाल स्रष्टा समाजका सल्लाहकार प्राडा लक्ष्मणप्रसाद गौतम, पूर्व अध्यक्ष चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, रमा शर्मा, वागमती प्रदेश संयोजक शंकर भारती,कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली,गण्डकी प्रदेश अध्यक्ष रिता न्यौपाने लगायत रहेका थिए।
सह आयोजक न्यौपाने बन्धु समाज नेपाल रहेको कार्यक्रम समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’ रोदन’को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गोपिकृष्ण न्यौपानेले धन्यवाद ज्ञापन गरे। प्रदीप सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा प्रकाश घायलले स्वागत मन्तव्य राखे।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानका संस्थापक पवन आलोक हुन् हालसम्म यो सम्मानबाट विभिन्न १८ व्यक्ति सम्मानित भैसकेका छन्। यसैगरी योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानबाट ९ जना सम्मानित भैसकेका छन् भने यसका संस्थापक राजेश न्यौपाने लगायत छन्। स्मरणीय छ, नेपाल सष्टा समाजले केही वर्षदेखि न्यौपाने बन्धु समाज नेपालको सहकार्यमा योगमाया स्मृति दिवसमा विभिन्न कार्यक्रम गरी मनाउँदै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *