एमाले कोशी अधिवेशन आजदेखि, को-को छन् अध्यक्षका दाबेदार - साझाकुरा
बिहिबार, माघ ३०, २०८२

एमाले कोशी अधिवेशन आजदेखि, को-को छन् अध्यक्षका दाबेदार


editor@sajhakura September 29, 2023

नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन शुक्रबार (आज) विराटनगरमा सुरु हुँदैछ।

संघीयता कार्यान्वयनमा आएपछि पहिलोपटक अधिवेशनमा जुटेको एमालेले यो अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

हालसम्म  पार्टी केन्द्रले तोकेको नेतृत्वले प्रदेश पार्टी सञ्चालन गरिरहेको एमालेमा अधिवेशनले उत्साह सञ्चार गरेको कार्यकर्ताहरु बताउँछन।

कोशी प्रदेशमा ९५ हजार १ सय ३९ जना पार्टी सदस्य रहेको एमालेमा अधिवेशनका लागि  १३७ स्थानीय तह, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ।

हालसम्म ९९७ जना प्रतिनिधि चयन भइसकेका छन्। अब त्यसको  पाँच प्रतिशत प्रतिनिधि चयन हुन बाँकी रहे पनि विवादका कारण चयन हुन सकेको छैन।

स्रोतका अनुसार अधिवेशनबाट अध्यक्षको पुनः दाबी गरिरहेका हालका अध्यक्ष तुलसी न्यौपाने पक्ष प्रतिनिधि मनोनयन गर्नुपर्ने पक्षमा छ भने अर्का दाबेदार विनोद ढकाल पक्ष मनोनयन गर्न नहुने पक्षमा छन्।

एमाले प्रदेशको अध्यक्ष बन्न प्रदेश कमिटीका हालका अध्यक्ष न्यौपाने, केन्द्रीय सदस्य विनोद ढकाल, नेताहरू घनश्याम खतिवडा र टीकाराम चेम्जोङ दौडमा छन्। यीमध्ये विनोद ढकाल, घनश्याम खतिवडा र टीकाराम चेम्जोङ चुनाव लडेरै भए पनि नेतृत्वमा जाने मानसिकतामा छन्। अध्यक्ष न्यौपाने भने सर्वसम्मत भए दोहोरिने अन्यथा प्रतिष्पर्धामा नजाने सोचमा रहेको नेताहरु बताउँछन्।

यी सबै नेताहरू  अध्यक्ष केपी शर्मा ओलीको ‘ग्रीन सिग्नल’ पर्खेर बसेका छन्।  तर, अधिवेशन सुरु हुने दिनसम्म पनि ओलीले यसबारे मुख खोलेका छैनन्।

पार्टी नेताहरु सहमतिमा प्रदेशको नेतृत्व चयन गर्नुपर्ने पक्षमा भए पनि दाबेदारहरु भने परिआए चुनाव लड्ने मनस्थितिमा छन्। ‘सकेसम्म सहमतिमा, एकमना एकताका साथ नेतृत्व चयन होस् भन्नेमै छौं’, अध्यक्षका दाबेदार घनश्याम खतिवडाले भने ‘हल र नेतृत्वको निर्देशन जे हुन्छ, सोही अनुसार नेतृत्व चयन हुनेछ।’

अध्यक्ष ओलीसहित सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू अग्नि खरेल, गुरु बराल, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल, राजेन्द्र गौतम, शिवमाया तुम्बाहाङ्फे, लालबाबु पण्डितलगायतका नेताहरू आफ्नो प्रदेशमा आफू अनुकूल नेतृत्व स्थापित गर्ने दौडमा छन्।   प्रदेशबाट स्थायी कमिटीमा प्रतिनिधित्व गर्ने बहुसंख्यक  नेताहरू अध्यक्ष ओलीको संकेत पर्खेर बसेका कारण खुलेर कसैको पक्षमा उभिन सकेका छैनन्।

दोस्रो तहका सबै नेताहरु सहमति जुटाउने प्रयासमा लागेका छन्। ‘अहिलेसम्म आकांक्षीहरु आ–आफ्नै अडानमा दृढ देखिन्छन्’, स्थायी कमिटीका एक सदस्यले भने ‘तर, सकेसम्म मिल्नुस् भनेर हामीले भनिरहेका छौं। हेरौं समय अझै बाँकी छ। नभए चुनावमार्फत नै नेतृत्व छानिने छ।’

एमाले प्रदेशका नेताहरूका अनुसार अहिलेसम्मको अवस्थामा चार जनाको आकांक्षा देखिए पनि अन्तिममा दुई जनाको मुख्य दाबेदारी रहने सम्भावना छ।

जसमध्ये विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिष्पर्धा हुने सम्भावना सबैभन्दा धेरै छ। स्रोतका अनुसार हालका अध्यक्ष न्यौपानेलाई माथिल्लो कमिटीमा लैजाने र उपाध्यक्ष टीकाराम चेम्जोङलाई पनि प्रदेश वा केन्द्रमा समेट्दै सर्वसम्मत गर्ने प्रयास जारी छ।  यद्यपि ढकालको व्यवस्थापनको मुद्दा पेचिलो बनेको स्रोतको भनाइ छ। 

स्थायी कमिटीमा स्थान दिए आफुले प्रदेश छाड्ने ढकालले नेताहरुलाई बताएका छन्।

पार्टीको पदेन पोलिटब्युरो सदस्य हुने र प्रदेश पार्टीमा कार्यकारी भूमिका पनि रहने भए पछि एमालेमा केन्द्रीय सदस्यहरू नै प्रदेश अध्यक्षको दौडमा छन्। त्यसबाहेक वडाध्यक्ष, पालिका प्रमुख, उपप्रमुख, प्रदेश र प्रतिनिधिसभा सदस्यले पार्टीमा कार्यकारी भूमिका नपाउने भएपछि पार्टी प्रदेश अध्यक्ष र सचिवमा यसअघि निर्वाचन हारेका नेताहरुलाई दाबी गर्न सजिलो भएको छ।

शुक्रबार विराटनगरमा सुरु हुने प्रथम अधिवेशनको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।
अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्नेछन्।
विराटनगरस्थित होटल मनास्लु इनमा आयोजना गरिने अधिवेशन भव्य हुने एमालेका कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपानेले जानकारी दिए।

अधिवेशनको सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले जानकारी दिए।  यस्तै कोशी प्रदेशमा देखिरहेको पहिचानको मुद्दाको विषयमा पनि अधिवेशनमा छलफल हुने न्यौपानेको भनाइ छ।

उनले अधिवेशनबाट नेतृत्व चयन सहमतिबाट हुने र नभए निर्वाचनमार्फत गरिने बताए। तर, प्यानल निर्माण गर्न नपाइने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *