धर्मदेवीमा स्वास्थ्य शिविर ३ सय बढिले लिए निशुल्क सेवा - साझाकुरा
बिहिबार, फाल्गुन २१, २०८२

धर्मदेवीमा स्वास्थ्य शिविर ३ सय बढिले लिए निशुल्क सेवा


editor@sajhakura May 26, 2025

संखुवासभा, ११ जेठ । नेपाल भारत मैत्री संघद्वारा संचालित भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा तथा धर्मदेवी नगरपालिकाको व्यवस्थापनमा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।
आइतबार सम्पन्न उक्त शिविरमा ३०० भन्दा बढी महिलाले पाठेघरको मुख (Pap Smear) र स्तन क्यान्सर सम्बन्धी परीक्षण तथा परामर्श सेवा लिएको आयोजकले जनाएको छ।

धर्मदेवी नगरपालिका वडा नं. ३ स्थित कार्यालयमा सम्पन्न शिविरमा डा. उज्वल चालिसेको नेतृत्वमा भक्तपुर क्यान्सर अस्पतालको विज्ञ चिकित्सक टोलीले परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरेको थियो।
शिविरको उद्घाटन नेपाल भारत मैत्री संघका पदाधिकारी, नगरप्रमुख उदयचन्द्र पौडेल, उपप्रमुख तारा महत भट्टराई, प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई, वडा नं. ३ का वडाध्यक्ष श्यामबहादुर पौडेल तथा अन्य सामाजिक व्यक्तित्वहरूको विशेष उपस्थितिमा गरिएको थियो।

कार्यक्रमको उद्देश्य महिलामा हुने क्यान्सरजस्ता गम्भीर रोगहरूको प्रारम्भिक अवस्था पहिचान गर्दै समयमै उपचारको पहल गर्नु रहेको थियो। महिलाको स्वास्थ्यप्रति जनचेतना फैलाउने र निःशुल्क सेवा पुर्‍याउने उद्देश्यले शिविरको आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *