संखुवासभा जेष्ठ ७
संखुवासभाका सबै स्थानीय तहहरुमा जतिसक्दो चाँडो सञ्चार नीति लागु हुने भएको छ । जिल्लाका जनप्रतिनिधिहरूले सञ्चार नीति बनाउन प्रतिबद्धता जनाएका छन् ।
बुधबार सदरमुकाम खाँदबारीमा पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लाका १० वटै स्थानीय तहका प्रतिनिधिहरूको तर्फबाट साझा रूपमा बोल्दै खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जिल्लाका सबै स्थानीय तहहरू सञ्चार नीति बनाउन प्रतिबद्ध रहेको बताएका हुन् ।
कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले लोकतन्त्र स्थापनाका लागि समेत पत्रकारले खेलेको भूमिका प्रभावकारी भएको भन्दै पत्रकारिता क्षेत्रको विकासमा कुनै कसर बाँकी नरहने विश्वास व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सबै स्थानीय सरकारले स्थानीय सञ्चारमाध्यमहरूको संरक्षणका लागि सहयोग गर्नुपर्ने बताए।
उनले जिल्लाबाट प्रत्येक स्थानीय तहले प्रकाशन गर्नुपर्ने लोककल्याणकारी सूचना र विज्ञापन स्थानीय सञ्चारमाध्यमबाट नै प्रकाशन र प्रसारण गरी पत्रकारहरूलाई बाँच्ने अवस्था बनाउनुपर्ने बताएका थिए। नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा चेम्जोङले कार्यक्रम सञ्चालन गर्दै संकटमा रहेको मिडिया जोगाउने दायित्व स्थानीय सरकारको काँधमा आएको बताइन्। उनले पत्रकार बिमा र वृत्ति विकासका लागि सहयोग गर्नुपर्ने धारणा राखिन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाले समन्वय र कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयले सहयोग गरेको थियो । कोशी प्रदेश भरीका जिल्लाहरुमा यो कार्यक्रम तेह्रौ जिल्ला अन्तर्गत संखुवासभामा भएको हो ।
श्राेत नागरिक चासाे डट कम