बैसाख २५
लामो समयदेखि कुनै कारोबार नगरी निस्क्रिय रहेका वीरगञ्जका ८८ वटा सहकारी संस्थाहरुको खारेजी प्रक्रिया अगाडि बढाएको छ।
वीरगञ्ज महानगरका विभिन्न वडाहरुमा रहेका ८८ वटा सहकारी संस्थाहरु लामो समयदेखि कारोबार नगरी निस्क्रिय रहेका कारण ती सबै सहकारी संस्थाहरु खारेज गर्ने प्रक्रिया आगाडी बढाईएको महानगरपालिकाले जनाएको छ ।
शुक्रबार वीरगञ्ज महानगरपालिकाको आर्थिक विकास महाशाखाले एक सूचना जारी गर्दै लामो समयदेखि कारोबार नगरी निष्क्रिय रहेका, सहकारी ऐन, नियमावली बमोजिम बुझाउनु पर्ने मासिक प्रगति प्रतिवेदन, वार्षिक साधारण सभाको निर्णय प्रतिलिपी, वार्षिक लेखा परीक्षण प्रतिवेदन, तथा कोपोमिसमा प्रविष्टि समेत नगरी पूर्ण रुपमा सम्पर्क विहिन अवस्थामा रहेकाले त्यस्ता सहकारी संस्थाहरुको दर्ता खारेजी प्रकृया अघि बढाईएको जनाएको छ ।
ती सहकारी संस्थाहरुलाई वीरगञ्ज महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ६६ उपदफा ३ बमोजिम कारवाही गर्न आवश्यक देखिएको र त्यही ऐनको दफा ६६ को उपदफा ४ बमोजिम सुनुवाईको लागि ३५ दिने सूचना प्रकाशन गरिएको महानगरपालिकाको प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिलकुमार कर्णले बताए ।
सूचना जारी भएको मितिले ३५ दिनभित्र महानगरपालिकाको सम्पर्कमा नआउने सहकारी संस्थाहरुको दर्ता खारेज गरिने महाशाखाका प्रमुख सुनिलकुमार कर्णको भनाई छ ।