सङ्खुवासभा असार २९
सङ्खुवासभाको खाँदबारीमा मकालु साहित्यिक समाजको आयोजना तथा १ नं वडा कार्याल्यको व्यवस्थापनमा २१३ औँ भानुजयन्ती भब्य रुपमा मनाईएको छ । मकालु साहित्यिक समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको साहित्यिक समारोहमा दुई वटा कृतिहरुको लोकार्पण समेत गरिएको थियो । जिल्लाका शुरक्षा निकाय, नागरिक समाज तथा साहित्यकार र संचारकर्मीहरुको उपस्थीति रहेको उक्त समारोहमा आदिकवी भानुभक्त आचार्यले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै कवी कवयत्रीहरुले आफ्ना श्रृजना प्रस्तुत गरेका थिए ।

भानुभक्तको ब्यक्तित्व र कृतित्वको चर्चा गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले भाषा साहित्यको माध्यमबाट समाजलाई एकीकरण गर्ने कार्यमा आदिकवी भानुभक्त आचार्यको योगदान अद्वितिय रहेको धारणा राखेका थिए । उक्त समारोहलाई सम्बोधन गर्दै खाँदबारी १ का वडाध्यक्ष निरन्जन श्रेष्ठले कला र भाषा साहित्य क्षेत्रको विकासका लागि मकालु साहित्यिक समाजले खेलेको भुमिकाको प्रशंसा गर्दै आदिकवी भानुभक्त आचार्य, मोतिराम भट्ट, शिद्धिचरण श्रेष्ठ लगायतका श्रष्टा र साहित्यकारहरुको योगदानलाई नेपाली समाजले कहिल्यै भुल्न नहुने बिचार ब्यक्त गरेका थिए ।
नव साहित्यकार हिमालय पोख्रेलले भानुभक्त आचार्यको भाषिक, साहित्यिक र साँस्कृतिक योगदानले नेपाली भाषा साहित्यलाई एकै सुत्रमा जोड्ने कार्यभएको बताउनु भएको थियो । कार्यक्रममा कविहरु कृष्ण जिमी (भरत),तारा घिमिरे, सुमन अधिकारी, केवल कार्की र सूर्य नारायण श्रेष्ठले आफ्र्ना श्रृजनाहरु प्रस्तुत गरेका थिए ।
भानु जयन्तीका अवसरमा लेखक रामप्रसाद लम्सालको दुई कृति नमस्कार सर निबन्ध संग्रह र स्मृतिका डोबहरु संस्मरण सङ्गालो एकैसाथ विमोचन गरिएको थियो । कृति कृतित्वको परिचर्चा गर्दै समीक्षक भरत राई, फणिन्द्र खनाल , शेरबहादुर पुरी र सनम थापाले कृति मौलिक सामाजिक यथार्थको धरातलमा संरचित रहेको चर्चा गर्दै कृतिको भाव, भाषा संरचना र शैली उत्कृष्ट रहेको प्रतिकृया दिए ।
कार्यक्रम समापन गर्दै सभापति बुढाथोकीले जिन्दगीका कुइनेटा संस्मरण र बाउ सामाजिक उपन्यासको प्रकासनका क्रममा आफूले प्राप्त गरेको अनुभवहरु बाँडेका थिए । बुढाथोकीले संस्मरण विधामा सबै सत्य लेख्दा पनि दुस्मन बढ्ने खतरा हुने कल्पना बढी राख्दा पनि समाजले नपत्याउने जोखिम हुने भएकोले यो विधामा कलम चलाउँदा प्रत्येक बाक्यांस र भावार्थमा सम्वेदनशिल हुनपर्ने अनुभव सुनाएका थिए । उनले जीवनी भनेौँ आख्यान तत्वको सन्निवेश हुने,उपन्यास भनूँ निबन्धात्मकता र जीवनीपरकता हुने भएकोले यसप्रकारका कृतिलाई जीवी÷उपन्यास.जीवन्यास भन्नु उपयुक्त हुने सुझाव दिए ।
उनले हे भानू कवि जन्मनू पुनःयहाँ फर्केर आउने गरी शीर्षकमा अरुण उपत्यकाको सौन्दर्य वर्णन गरी सार्दूल विक्रिडित छन्दको कविता सुनाउँदा समारोहको पुरै साहित्यिक माहोलमा रमेको थियो ।
श्री शिवको धारा मकालु शिरको बग्छन् अरुणमा झरी
व्यासको आसन छ पुराण लेखने कन्चन सभापोखरी।।
फूल्छन् सुन्दर ती विविध रुपमा गुराँस उन्तीस थरी,
हे भानू कवि जन्मनू पुन यहाँ फर्केर आउने गरी।