संखुवासभा जेष्ठ २९
संखुवासभाको खाँदबारीमा कोशेली घर स्थापना गरिएको छ । प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनाको ७५ प्रतिशत अनुदान र संखुवासभा उद्योग बाणिज्य संघको २५ प्रतिशत लगानीमा प्याकेजिङ प्रशोधन मेशिन सहित करिव नौं लाखको लागतमा कोशेलीघर स्थापना गरिएको संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले जानकारी दिए । जिल्लाको रैथाने उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म बजारीकरण गर्ने उदेश्यले कोशेली घर संचालन गरिएको संघका अध्यक्ष बस्नेतले बताए ।
बिहिबार एक कार्यक्रमका बिच प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्यले कोशेली घरको उद्घाटन गरेका हुन् ।
कोशेली घरमा संखुवासभामा उत्पादित अल्लोबाट बनेका कपडा,जुत्ता चप्पल, झोला, सल सख्खर, अलैंचिका परिकार, बिश्वमै दुर्लभ संखुवासभामा मात्रै उत्पादन हुने ताक्मरु चामल, रुद्राक्षबाट बनेका हस्तकलाका सामग्री,संखुवासभामा पाईने जडिबुटि, छुर्पि लगायतका रैथाने उत्पादनहरु राखिएका छन् । जिल्ला समन्वय समिति संखुवासभाको भवनमा रहेको सटरमा कोशेली घर स्थापना गरिएको छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गरि राष्ट्रिय रुपमा संखुवासभाका रैथाने उत्पादनको अन्तराष्ट्रियकरणका लागि कोशेली घरले महत्वपुर्ण योगदान दिने समन्वय प्रमुख शाक्यको भनाई छ । संघका महासचिव प्रबिण श्रेष्ठले संचालन गरेको उद्घाटन तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै संखुवासभाका प्रमुख जिल्ला अधिकारी दीब्यराज पोखरेलले संखुवासभामा उत्पादन हुने उत्पादित बस्तुहरुको स्थान बिषेस बिशिष्टीकरण गर्न सकिए कोशेली घरको थप प्रभावकारीता बढ्ने र स्थान बिषेसलाई पहिचान दिलाउन सकिने धारणा राखे ।
अहिले संखुवासभा केन्द्रिय सडकमार्ग संग जोडिएकाले बाह्य पर्यटकको समेत उल्लेख्य उपस्थीति रहने गरेको छ । पर्यटन प्रवर्धनमा स्थानीय रैथाने उत्पादनले ठुलो भुमिका खेल्ने भएकाले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन बर्ष २०८२ लाई सफल बनाउन संखुवासभा कोशेली घरको स्थापनाले महत्वपुर्ण भुमिका खेल्ने संखुवासभा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष संजिव कुमार श्रेष्ठले बताए ।


