जेष्ठ २५
भारत जाने टिकट काटेका यात्रु दुबई पुगेको घटनामा नेपाल एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई कर्मचारीलाई आइतबार पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा सुमीत्रा चन्द र प्रवीण लामिछाने रहेका छन् । उनीहरू दुवै करारका ग्राउण्ड ह्याण्डलिङ स्टाफ भएको बताईएको छ ।
भारतको इन्डिगो एयरको उडान भएका एक भारतीय यात्रु भारत जान अध्यागमन जाँचपास भएर वेटिङ रुममा पुगेका थिए ।
त्यहाँ पुगेपछि वायुसेवा निगमका कर्मचारी चन्दले फ्लाई दुबईबाट दुबई जाने बोर्डिङ पास दिएको भेटिएको हो । ती भारतीय नागरिक जेठ ३ गते दुबई उडेका थिए ।
नेपालबाट तेस्रो मुलुक जानुपरे भारतीय नागरिकले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) पेस गर्नुपर्ने प्रावधान रहेको छ ।
अध्यागमन विभागले यसबारे प्रहरीलाई पत्राचार गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाईएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो।