सङ्खुवासभा, ८ पुष
सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ आयोजना हुने भएको छ । “पुस ११–१५ खाँदबारी–४ सेकाहा जाऔँ, ऐतिहासिक सेकाहा महोत्सवलाई भव्यताका साथ मनाऔँ” भन्ने नारासहित महोत्सव पुस ११ देखि १५ गतेसम्म पाँच दिन चल्नेछ ।
आज सदरमुकाम खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक सेकाहा सामुदायिक विकास क्लबका अध्यक्ष मनिराज गुरुङले महोत्सवलाई भव्य र सभ्य बनाउन मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिए ।
महोत्सवमा स्थानीय घरेलु तथा कृषि उत्पादनहरूको प्रदर्शनी रहनेछ ।
कार्यक्रमअन्तर्गत सेकाहा रंगशालाको उद्घाटन, जग्गादाताहरूलाई सम्मान, अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता तथा स्थानीय र राष्ट्रियस्तरका चर्चित गायक–गायिकाद्वारा बृहत् सांगीतिक कार्यक्रम प्रस्तुत गरिनेछ । साथै, पर्यटकीय क्षेत्र सेकाहा गाउँको अवलोकन, पर्यटन प्रवर्द्धन तथा होमस्टे अवलोकन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी, कृषि तथा घरेलु उत्पादन प्रदर्शनी, जिल्लाभरका गुरुङ समुदायको सहभागितामा तमू ल्होसार पर्व मनाइनेछ ।
महोत्सवमा छेलो हान्ने, डोरी तान्ने, हाँडी फुटाउने लगायतका खेलकुद तथा सांस्कृतिक नृत्यहरू पनि समावेश छन्। आयोजकका अनुसार महोत्सवमा देशका विभिन्न क्षेत्रका साथै सिक्किमलगायतबाट समेत पाहुनाहरू सहभागी हुनेछन्।