सुधार केन्द्रमा कुटपिट गरिएको घटना बाहिरियो - साझाकुरा
शुक्रबार, माघ २४, २०८२

सुधार केन्द्रमा कुटपिट गरिएको घटना बाहिरियो


editor@sajhakura May 5, 2025

वैशाख २२,

रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा आश्रित एक युवकमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको घटना बाहिरिएको छ। सुधार केन्द्रमा एक युवकको खुट्टामा पाइपले हिर्काएको पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

राइजिङ नेपाल सुधार केन्द्रभित्र तीन जनाले एक युवकलाई लडाएर समाउँछन्। अर्का एक जनाले सेतो पाइपले पैतलामा लगातार कुटपिट गरेको भिडियोमा प्रस्ट देखिन्छ। ४१ सेकेन्ड लामो भिडियोमा कुटपिटबाट युवक कराएको आवाज बाहिरिन नदिन पृष्ठभूमिमा ठूलो आवाजमा संगीत बजाएको सुनिन्छ।

सुधार केन्द्रका सञ्चालक सुरजकुमार गुप्ताले आफूले राखेको गौरका स्थानीय कर्मचारीले ७र८ महिना अघि भिडियो बनाएको र उनीहरूले लागूऔषध सेवन गरेको फेला पारेर निकालेपछि भिडियो भाइरल गरेको दाबी गरे। ‘विकास गुप्ता भन्ने मेरो पुरानो कर्मचारीले मलाई बदनाम गर्न जानीजानी भिडियो बनाएका हुन्,’ उनले भने, ‘अहिले गुप्ता भागेको छ। उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरेको छु।’ उनले पत्रकार सम्मेलनको आयोजना गरी घटनाबारे सत्य तथ्य बताउने जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले घटनाबारे बुझ्न सुधार केन्द्र पुगेका छन्। ‘घटनामा कुटाइ खाने र कुट्नेबारे हामी बुझ्दै छौं,’ उनले भने, ‘कुट्ने र कुटाइ खाने दुवै सम्पर्कमा छैनन्। उनीहरूसँग सम्पर्क गरेर यथार्थ बुझ्छौँ।’

कुट्ने युवक सिपु पाण्डे सुधार केन्द्रकै कर्मचारी हुन्। कुटाइ खाने युवक रितेशकुमार गुप्ता भएको र उनीहरू दुवै सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। रितेश तीन महिना अघि सुधार केन्द्रबाट डिस्चार्ज भइसकेका छन्।
सञ्चालक सुरजकुमार गुप्ताले सुधार केन्द्रबाट निकालेपछि पुरानो भिडियो सामाजिक सञ्जालमा राखिएको बताए। उनले सत्य तथ्य छानबिनका लागि जिल्ला प्रहरीमा निवेदन दिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *